काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले प्रेसिडेन्सियल विजनेश स्कुलसँग सहकार्यको हात अघि बढाएको छ ।
काठमाडौंमा एकेडेमी सञ्चालन गरेर ब्याडमिन्टनका खेलाडी उत्पादन गर्दै आएको काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए)ले प्रेसिडेन्सियल विजनेस स्कुललाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ ।
प्रेसिडेन्सियलसँगको सहकार्यसँगै अब काठमाडौं ब्याडमिन्टन एकेडेमीको नाम प्रेसिडेन्सियल काठमाडौं ब्याडमिन्टन एकेडेमी रहनेछ ।
एकेडेमीले सम्झौताको अवधि दुई वर्षको रहेको बताएको छ । सम्झौता अनुसार प्रेसिडेन्सियल विजनेश स्कुलले काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई १५ लाख रुपैयाँको प्रायोजन गरेको हो । जस अनुसार ५ लाख नगद र १० लाख रुपैयाँ केबीएका खेलाडीलाई ब्याचलर र मास्टर्स लेवलका कोर्स स्कुलले उपलब्ध गराउनेछ ।
बुधबार गुरु पूर्णिमाकै अवसरमा केबीएले अन्तराष्ट्रिय प्रतियोगितामा पदक दिलाउन सफल तथा खेलाडी उत्पादनमा योगदान गरेका प्रणवकुमार तालुकदर, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान गरेको थियो ।
यस्तै केबीएले नेपाली ब्याडमिन्टनका पुराना कत्थ्य र तथ्यलाई मिडियामार्फत उजागर गरेको भन्दै खेलकुद पत्रकार कुशल तिमल्सिनालाई प्रतिभावान पत्रकार सम्मानबाट सम्मानित गरेको छ।