काठमाडौं । त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तीन विधामा उपाधि नजिक पुगेकी छन् । उनी महिला एकल र युगल तथा यु—१७ गल्र्स गरि तीन विधाको उपाधि नजिक पुगेकी हुन् । रशिलाले महिला एकलमा सेनाकै नङ्गशल देवी तामाङ्गसंग फाईनल भेट पक्का गरिन ।
शुक्रबार सम्पन्न सेमिफाईनलमा नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ को सेटमा पराजित गरिन् । रशिलाले गत संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गलाई २१–१३, २१–११ ले पन्छाउँदै उपाधी नजिक पुगेका हुन् ।
यस्तै रशिलाले यु—१७ गल्र्सतर्फ मोरङ्गकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा पराजित गरिन् । यस्तै दोश्रो खेलमा सेनाकै रञ्जना भट्टले मोरङ्गकै सिमा राजबंशीलाई २१–१६, २१–१५ ले पन्छाउंदै फाईनल प्रवेश गरिन् ।
यसैगरि रशिलाले नङ्गशल तामाङ्गसंग मिलेर महिला युगलतर्फ पनि जित निकाल्दै उपाधी नजिक पुगेकी छिन् । रशिला र नङ्गशल जोडीले जेष्टकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१–११, २१–११को सोझो सेटमा हराएका हुन् ।
अव रशिला र नङ्गशलले फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने भएका छन् । पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गरे ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन भईरहेको छ ।