काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जित निकालेको हो ।
५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३-६,७-५,३-६,७-५ र ७-६ (१०-४) को सेटमा जित निकाले ।

३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जित हो ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
अब नाडालले फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।
महिलातर्फ सिमोना हालेपले सेमिफाइनलको यात्रा तय गरेकी छिन् ।