काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाए ।
‘चुनावी सरकार भएका कारण केही सुरुवात गरेर जाउ भन्ने हो । त्यसलाई अरुले अघि बढाओस् भन्ने सोच छ । पर्यटन मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समावेश गर्नेछु ।’ उनले भने ।
उनले शाहसीक खेल पर्यटनमा मन्त्रालयले काम गर्ने भएपनि अन्य पर्यटनसँग सम्बन्धित खेलकुदमा काम गर्ने जिम्मेवार निकाय खेलकुद मन्त्रालय रहेको बताए ।
‘स्पोर्टस टुरिजममा एउटा शाहसीक स्पोर्टस टुरिजम हुन्छ । अर्को एमेच्योर स्पोर्टसको नेतृत्व खेलकुद मन्त्रालयले गर्नुपर्छ ।’ उनले भने, ‘खेलकुद मन्त्रीसँग समन्वय गर्ने र सहकार्य गर्ने काम गर्छौ ।’
उनले कोभिडले थला परेको पर्यटन क्षेत्रका विविध विषयलाई केन्द्रमा राखेर अघि बढ्ने तयारीमा आफु रहेको बताए ।
लामो खेलकुद पृष्ठभुमीका बोकेका श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल खेलकुद पत्रकार मञ्चले खेल पर्यटनको सम्भावनाको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त मन्त्री श्रेष्ठलाई मञ्चको केन्द्रिय कार्यालयमा स्वागत गर्दै अध्यक्ष दुर्गानाथ सुबेदी र एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सफल कार्यकालको शुभकामना दिएका थिए ।