काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् ।
मंगलबार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् ।
सेन्टर कोर्टमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ र ६-४ को सेटमा जित निकाले ।
विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालको यो ३ सय ६ औं ग्रान्डस्लाम जित हो ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् ।
३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
इगाले क्रोएसियाकी जना फेटलाई ६-० र ६-३ ले पराजित गरिन् ।
यससँगै पोल्याण्डकी इगाले ३६ औं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायम राखेकी छिन् ।