काठमाडौं । क्यानडियन तेक्वान्डो फेडरल अन्तराष्ट्रिय (सिटिएफटी) नेशनल च्याम्पियन प्रतियोगितामा हिमालयन तेक्वान्दो एकेडेमीले ७ स्वर्णसहित २१ पदक जितेको छ ।
आगामी बर्ष जर्मनीमा हुने वल्र्ड च्याम्पियनशिपका लागी क्यानडाको क्यालगरीमा भएको छनोट प्रतियोगीतामा हिमालयन तेक्वान्दोले उत्कृष्ट नतिजा निकाल्दै २१ पदक जितेको हो । राजु गडतौलाको प्रशिक्षणमा रहेको एकेडमीले ७ स्वर्णसहित ५ रजत र ९ कास्य जितेका हुन् ।
प्रतियोगितामा प्यार्टन र स्पाइरिङ विधा समावेश थिए । जसमा स्माइल खत्रीले दुवै विधामा १/१ स्वर्ण जिते । प्यार्टन विधामा १/१ स्वर्ण जित्ने अन्य खेलाडीमा प्रध्योतन निरौला, सुभम लुइटेल विवेक तिमिल्सिना छन् । त्यस्तै स्पाइरिङमा, रियाज अर्याल, प्रशुभा अधिकारी ले १/१ स्वर्ण जितेका छन् ।
स्पाइरिङ विधामा प्रध्योतन निरौला, शुभाम लुइटेल, गिब्सन ढकाल र सुभम अधिकारीले रजत जिते । प्यार्टन र स्पाइरिङ विधामा अनुश्का गिरी र जोनिश चौधरीले १/१ कास्य जिते । त्यस्तै प्यार्टनतर्फ प्रशुन शर्मा, शशांक भण्डारी, अरिक पौडेल, इशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल कास्य हात पार्न सफल भए ।
नेशनल च्याम्पियनमा क्यानडाको विभिन्न प्रान्तबाट आएका ५ सय ७३ खेलाडीको सहभागिता रहेको थियो । उक्त राष्ट्रिय च्याम्पियन छनौटमा प्रशिक्षक राजुको नेतृत्वमा १७ नेपाली खेलाडीले भाग लिएका थिए ।
राजुले क्यानडाको अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन बर्षदेखी नेपाली मुलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिईरहेका छन् ।