काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले ग्रासरुट क्रिकेटमा सहकार्य गर्न काठमाडौं महानगरका प्रमुखसँग आग्रह गरेका छन् ।
मंगलबार महानगर प्रमुख बालेन्द्र साहसँग भेट गर्दै पूर्व कप्तान पारसले काठमाडौंको ग्रासरुट क्रिकेट हराएको उल्लेख गर्दै महानगरले समेत विद्यालय क्रिकेटमा लगानी बढाउन आवश्यक रहेको सुझाव दिएका थिए ।
‘म आफै काठमाडौंको क्रिकेट खेल्दै हुर्किएको हुँ । तर अहिले त्यो अवस्था छैन । क्रिकेटको विकास गर्ने हो भने ग्रासरुटमा लगानी गर्नुपर्छ । महानगरसँग सहकार्य गर्न हामी तयार छौं ।’ मेयरलाई पारसले भने ।
अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस अहिले एकेडेमी सञ्चालन गरेर साना बालबालिकालाई क्रिकेट प्रशिक्षण दिदै आएका छन् । उनकै अग्रसरतामा बुधबारबाट विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता बलियो नेपाल क्रिकेट सुरु हुदैछ । कार्यक्रमको पूर्व सन्धयामा पारस काठमाडौंका मेयरलाई भेट्न पुगेका थिए ।
भेटघाटमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट विकासमा महानगरलाई लगानी गर्न आग्रह गरेका थिए । उनले काठमाडौं महानगरसँग खेलकुदका लागि ठुलो बजेट रहेको उल्लेख गर्दै क्रिकेटमा सहकार्य गर्न आफु तयार रहेको बताएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रिय सदस्य छुम्बी लामाले नेपाली क्रिकेटको अहिलेसम्मको अवस्था र अन्तराष्ट्रिय सम्भावनाका विषयमा धारणा राख्दै महानगरले क्रिकेटमा लगानी गर्नुपर्ने बताएका थिए ।
महानगर प्रमुख साहले भेटघाटका लागि पूर्व कप्तान सहितको समुहलाई धन्यवाद दिदै क्रिकेट विकासमा महानगरले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।