काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावेदन समितिले तीन जनालाई मताधिकार सहितको प्रतिनिधि हुन मिल्ने निर्णय सुनाएको छ ।
प्राप्त निवेदन उपर निर्णय सार्वजनिक गर्दै पुनरावेदन समितिले सरस्वती, फ्रेन्ड्स र महिला संघलाई मताधिकार सहितको प्रतिनिधि कायम गर्ने निर्णय गरेको हो । समितिले सिराहा जिल्लाका प्रविण कुमार यादवको नाम मतदाता नामावलीबाट हटाउने गरि भएको निर्णय मिलेको देखिएको उल्लेख गर्दै सदर हुने ठहर गरेको छ ।
अन्तिम मतदाता नामावली प्रकाशनमा गर्ने क्रममा निर्वाचन समितिले महिला संघ, सरस्वती क्लब, फ्रेन्ड्स क्लब र सरस्वती क्लबको मताधिकार बदर हुने निर्णय गरेको थियो ।
निर्वाचन समितिको निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए । पुनरावेदन समितिले प्राप्त निवेदनका आधारमा छानविन गर्दै तीन जनाको मताधिकार सहितको प्रतिनिधित्व कायम रहने निर्णय गरेको हो ।
सिराहा जिल्लाका प्रविणकुमार यादव कार्यसमितिको मनोनित सदस्यको हैसियतमा विभिन्न बैठक तथा साधारण सभामा उपस्थित भएर जिम्मेवारी निर्वाह गरेको र मनोनित केन्द्रिय सदस्यको पदीय हैसियतमा एन्फामा काम गर्दै आएको देखिएकाले एन्फा विधान अनुसार मताधिकार प्रतिनिधिको रुपमा कायम राख्न नमिल्ने निर्णय पुनरावेदन समितिले गरेको छ ।
एन्फामा महिलाको प्रतिनिधित्व गर्ने एकमात्र सदस्यको रुपमा नेपाल फुटबल महिला संघ रहेको देखिएकाले सो संघलाई मताधिकारबाट बञ्चित गर्दा महिलाको प्रतिनिधित्व हुन नसक्ने भई नेपालको संविधानले अंगिकार गरेको समावेशीताको सिद्धान्तको मर्म र भावना विपरीत हुने भएको तथा एन्फाको विधान अनुसार मताधिकारबाट संघलाई बञ्चित गर्न उपयुक्त नदेखिएकाले मताधिकार दिने निर्णय गरेको छ ।
सामाजिक उत्तरदायित्व समितिको संयोजकको हैसियतमा मताधिकार प्रतिनिधिको रुपमा एन्फामा भाग लिन बन्देज नगरेको अवस्थामा निर्वाचन समितिले असान्दर्भिक धारा उल्लेख गरेर भन्दै पुनरावेदन समितिले सरस्वती क्लबका उत्तमराज भण्डारीलाई मताधिकार सहितको प्रतिनिधि कायम गर्ने निर्णय गरेको छ ।
यस्तै, एन्फाको विधान, निर्देशिका र फिफाको परिपत्रले फ्रेन्ड्स क्लबमा मताधिकार लिएका दिपक थापालाई मताधिकार प्रतिनिधिबाट हटाउने निर्णय नमिलेको हुदाँ पुनरावेदन समितिले फ्रेन्ड्स क्लबलका प्रतिनिधिले मताधिकार प्राप्त गर्ने निर्णय गरेको छ ।
निर्वाचन समितिले बदर गरेका चारै मत कर्माछिरिङ शेर्पा पक्षका हुन् । निर्वाचन समितिबाट बदर भएका चार मतमा तीन मत सदर भएर आएपछि शेर्पा पक्षलाई केही राहत मिल्ने देखिएको छ ।
एन्फाको आसन्न निर्वाचन असार ६ गते हुदैछ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।