काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनावमा निर्वाचन समितिले बदर गरेका चार भोटको निर्णय आईतबार आउन सकेन ।
एन्फाको निर्वाचन समितिले चार भोट बदर हुने निर्णयविरुद्ध पुनरावेदन समितिमा उजुरी परेको थियो । तर समितिले पाएको समय सिमाभित्र पुनरावेदनका लागि दिएको निवेदनको निर्णय आउन सकेन ।
समितिले जेठ २९ गतेभित्र पुनरावेदनको निर्णय दिनुपर्ने समयसिमा थियो ।
समिति संयोजक विष्णु लुईटेलले समय अभावका कारण निर्णय हुन नसकेको खेलपाटीलाई बताए ।
‘सामान्य उजुरीमाथि छलफलमात्र गर्यौ । समय अभावले निष्कर्शमा पुग्न सकेनौं ।’ लुईटेलले भने, ‘जेठ २९ गतेसम्मको समय सिमा थियो । सार्वजनीक बिदा पनि भएकाले र छलफलको एजेण्डामा समय अभावले निर्णय हुन सकेन ।’
समिति संयोजक लुईटेलका अनुसार सोमबारसम्म पुनरावेदन समितिले निर्णय दिने तयारी गरेको छ ।
एन्फाको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनीक गर्ने क्रममा प्राप्त उजुरीका आधारमा सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकारलाई बदर गर्ने निर्णय गरेको थियो ।
निर्वाचन समितिको निर्णय पूर्वाग्राही भएको भन्दै चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए । विवादमा तानिएका चारै भोट अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पा पक्षका छन् ।
असार ६ गतेको आसन्न निर्वाचनमा निर्णायक हुने भएकाले पुनरावेदन समितिको निर्णयलाई महत्वका साथ हेरिएको छ ।