काठमाडौं । तेक्वान्दोका ओलम्पियन विधान लामाले देशमा भविष्य नदेखेर विदेशीएको बताएका छन् । काठमाडौंमा सोमबार एक पत्रकार सम्मेलनमा देशमा बस्ने चाहना भएपनि आफ्नो भबिष्य सुनिश्चित नहुने देखेर पलायन भएको बताएका हुन् ।
आफ्नो पालामा दिपक बिष्ट र संगीना बैद्यको पालाको जस्तो सेवा सुबिधा नभएको समेत लामाले दाबी गरे । पढाईले गर्दा पनि आफु विदेशीनु परेको बताउदै उनले भने, 'त्यस समय संगीना बैद्य र दिपक विष्टको समय जस्तो थिएन । त्यसैले म विदेशीन बाध्य भए ।'
लामाले सन् १९८४ देखि सन् १९९० सम्म नेपालबाट अन्तर्राष्ट्रिय खेलहरु खेलेका थिए । सन् १९८६ मा लामाले १० औं एसियाली खेलमा नेपाललाई कास्य दिलाएका थिए । उनले सन् १९८७ मा स्पेनको राजधानी बार्सिलोनामा भएको ८ औं विश्व तेक्वान्दो च्याम्पियनसिपमा पनिकास्य पदक हात पारेको थिए ।
त्यस्तै लामाले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सउलमा भएको २४ औं ग्रीष्मकालीन ओलम्पिकमा कास्य पदक हासिल गरेका थिए । तर, उक्त संस्करण तेक्वान्दोलाई प्रदर्शनी खेलको रुपमा राखिएको थियो ।
अहिले लामा अमेरिकाको ग्रीन कार्ड होल्डर हुन् । तर, लामाले तेक्वान्दो प्रशिक्षणको लागी आफुलाई बोलाए स्वदेश फर्कने बताए । उनले नेपाली तेक्वान्दोको स्तर खस्किएको समेत दाबी गरे ।
'नयाँ प्रतिभा धेरै छन् । तर,अहिले तेक्वान्दो खेलको अवस्था खस्केको छ,' लामाले भने, 'राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाए स्वदेश फर्कन्छु ।'