पहिलो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन ४२.१९५ किमिको हुनेछ । म्याराथन अन्नपूर्ण आधारशिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर,वगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।
४२ सय मिटर उचाईबाट १६ सय उचाईमा समापन हुने म्याराथनको विजेताले १ लाख पुरस्कार पाउने छन् । त्यस्तै दोस्रोले ७०, तेस्रोले ५० र सान्त्वना पुरस्कारस्वरूप सात जनाले समान ८ – ८ हजार प्राप्त गर्ने छन् ।
म्याराथनमा १०० पुरुष खेलाडीहरुले सभागिता जनाउने प्रतियोगिता संयोजक ऋषि भण्डारीले जानकारी गराए । दोस्रो संस्करणबाट भने विदेशी र महिला स्पर्धा समेत राखिने आयोजकले जनाएको छ । म्यारथनमा सहभागिता जनाउन १ सय शुल्क लाग्ने छन् । काठमाडौँबाट सहभागी हुने खेलाडीलाई आउने, जाने लगायतको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् ।
म्यारथनअघि जेठ १७ देखि २० सम्म अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण सेन्चुरी महोत्सव अन्तर्गतको तेस्रो तथा अन्तिम चरणका महोत्सव हुने समेत आयोजकले जनाएको छ । म्याराथन र महोत्सवको समापन समारोहमा पूर्व प्रधानमन्त्री एवम् अन्नपूर्ण काठमाडौँ समाजका संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड‘ , युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर वि.क. र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको उपस्थिति रहने आयोजकले बताएको छ ।