काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानका पूर्व खेलाडी युनिस खान र उमर गुललाई आफ्नो ब्याटिङ र बलिङ कन्सल्ट्याण्टको रुपमा नुयुक्त गरेको छ ।
यूएईमा अभ्यासमा ब्यस्त रहेको अफगानिस्तान क्रिकेट टिममा युनिस र गुल क्रमश: ब्याटिङ र बलिङ कन्सल्ट्याण्टको रुपमा जोडिएका हुन् । युनिसले सन् २०१७ देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएर पाकिस्तानको ब्याटिङ प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।
उमरले सन् २०२० मा सन्यास लिएर पाकिस्तान सुपर लिगको टिमसँग आबद्द भएर बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।
'युनिस खान र उमर गुल अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवको धनि खेलाडी हुन् । मलाई विश्वास छ उनीहरुले आफ्नो ब्याटिङ र बलिङ क्षेत्रमा हाम्रो खेलाडीहरुमा निखार ल्याउन मद्दत गर्ने छन्,' अफगानिस्तान क्रिकेट बोर्डका कार्यकारी निर्देशक नसिब खानले भनेका छन् ।
अफगानिस्तान हाल यूएईमा आफ्नो आगामी अन्तर्राष्ट्रिय सिरिजको तयारीमा ब्यस्त रहेको छ । गत मंगलबार, अफगानिस्तान क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका लान्स कुल्सनरको स्थानमा इंग्ल्याण्डका पुर्व ब्याटर ग्राहम थोर्पेलाई मुख्य प्रशिक्षकको रुपमा भित्राएको थियो ।