एजेन्सी । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले एकदिवसीय सिरिजमा लज्जास्पद हार ब्यहोरेको छ । घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखलामा पाहुना टोली अष्ट्रेलिया २-१ ले पराजित भएको छ ।
सनिबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्यो । लाहोरमा भएको खेलमा २ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २ सय १४ रन बनायो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले शतकीय इनिङ खेले । उनले १ सय १५ बलमा १२ चौका प्रहार गर्दा १ सय ५ रनमा अविजित रहे ।यस्तै इमामुल हकले १ सय बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८९ रनमा अविजित रहे । ओपनर फखर जमानले १७ रनको योगदान गरे ।
अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २ सय १० रन बनाउँदा अलआउट भयो । उसका एलेक्स केरीले ५६ रनको अर्धष्टकीय इनिङ खेले । उनले ६१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै सिन अब्बोटले ४९ रन,बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४, मार्कस स्टोइनेसले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३/३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।
अन्तिम खेलमा जित निकाल्दै पाकिस्तानले सिरिज समेत जितेको छ । यसअघि पाकिस्तानले अष्ट्रेलियालाई दोस्रो एकदिवसीयमा ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले पराजित गरेको थियो ।
खेलका प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज पाकिस्तानका बाबर आजम घोषित भए ।