एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । सनिबारको पहिलो खेलमा राजस्थानले मुम्बईलाई २३ रनले पराजित गरेको हो ।
१ सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो ।
मुम्बईका दुई खेलाडीले अर्धशतक पुरा गरेपनि जित निकाल्न सकेन । तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । उनले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै इशान किसनले ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित शर्मा १० रनमा आउट हुँदा किरण पोलार्डले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनायो । राजस्थानका जोस बट्लरले सर्वाधिक शतकीय इनिङ खेले । उनले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
मुम्बईकोबलिङमा जस्प्रित बुम्रा र त्यामल मिल्सले समान ३/३ विकेट लिए ।
खेलमा शतकीय इनिङ खेलेका बट्लर प्लेयर अफ द म्याच घोषित भए ।
राजस्थान २ खेलमा २ जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बई भने लिगमा २ खेल खेल्दा जित विहिन तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।