धनगढी । मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णाली प्रदेश फाइनल प्रवेश गरेको छ ।
सुदूरपश्चिमले बिहीबार बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियो । तर, नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ ।
फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले बागमतीमाथि ६ विकेटको जित दर्ता गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
सुदूरपश्चिमको जितमा सावित्री धामीले अविजित २३ र यशोदा विष्टले अविजित १८ रन बनाइन् । त्यस अघि बागमतीका लागि हेलिशा गुरुङले २२ रन बनाइन् । उसलाई १८.३ ओभरमै रोक्न सुदूरपश्चिमका स्नेहा महरा, अनु खडायत र यशु पाण्डेयले समान २÷२ विकेट लिइन । खेलेको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी सावित्री भइन् ।
बुधवार लुम्बिनीसँग पराजित भए पनि सुदूरपश्चिमलाई रन रेटमा पछि पारेर फाइनल पुगेको कर्णालीले अब शुक्रबार उपाधिका लागि गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ । गण्डकी यस अघि नै मधेस प्रदेशलाई पराजित गर्दै फाइन प्रवेश गरिसेकेको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।