एजेन्सी । आईसीसी महिला विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनल प्रवेश गरेको छ । वेष्ट इन्डिजविरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो ।
सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भर पर्ने छ ।
खेलको समयअघि पानी परेको कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नु परेको थियो ।
खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रीका ब्याटिङमा आएको थियो । १० ओभर ५ बलमा ४ विकेट गुमाएर दक्षिण अफ्रीकाले ६१ रन जोडेपछि पुनः खराब मौसम बाधक बन्न पुग्यो र खेल खेल रद्द भएको थियो ।
यसअघि अष्ट्रेलियाले ६ खेलमा ६ जित निकाल्दै १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको थियो । दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली हो ।
यता बिहीबार नै भएको अर्को खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ ।
सेमिफाइनल सम्भावना जिवित राख्न पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्य इंग्ल्यान्डले मात्र १ विकेट गुमाएर १९ ओभरमा २ बलमा पुरा गर्यो ।
इंग्ल्यान्डको जितमा डानी वेटले अविजित रहदै ७६ रनको योगदान गरिन् । हिथर नाइट २४ रनमा अविजित रहिन् ।
पाकिस्तानका लागि एकमात्र विकेट डायना बेगले हात पारिन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा ३ बलमा अलआउट हुदै १ सय ५ रनमा सिमित भयो ।
पाकिस्तानका लागि सिद्रा अमिनले सर्वाधिक ३२ रनको योगदान गरिन् ।
इंग्ल्यान्डका लागि क्याथरिन ब्रन्ट र सोफी इक्लेस्टोनले समान तीन–तीन विकेट हात पारे ।
इंग्ल्यान्डले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।