काठमाडौं । चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको अक्सन आइतबार राजविराजमा सम्पन्न भएको छ।
चैत १० गते देखि सुरु हुने प्रतियोगितामा सहभागी पाँच टोलिले १ सय ३९ जना खेलाडीमाथि बोलि लगाएका थिए। अक्सनमार्फत पाँच टिमले कुल ६५ जना खेलाडी टिममा भित्र्याएका छन्।
अक्सनमा सबैभन्दा बढी मूल्य राष्ट्रिय क्रिकेटर भुवन कार्कीले पाए। देब्रे हाते स्पिन अलराउण्डरलाई सुनिल धमला मार्की खेलाडी रहेको टिम तिलाठी कोइलाडी जायन्टसले २० हजार रुपैयाँ खर्चियो।
यस्तै अन्डर-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, तृत राज दास, दिपेश कंडेल १५ हजार रुपैयाँमा बिक्रि भए। यस्तै युवा क्रिकेटर मुकुन्द यादव र अमित यादवले पनि १५ हजार रुपैयाँ पाए। एउटा टिमले अक्सनमा मार्की खेलाडी र लोकल आइकन खेलाडी आवद्ध गरेको रकम बाहेक एक लाख ३१ हजार रुपैयाँ खर्च गर्न पाउने नियम थियो।
अक्सनमा सबै भन्दा बढी रकम डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले एक लाख १४ हजार २५० रुपैयाँ खर्चियो। अक्सनमा सहभागी खेलाडीहरुलाई बिभिन्न चारवटा श्रेणीमा विभाजित गरिएको थियो। ए ग्रेडमा रहेका खेलाडीहरुलाई बेस प्राइस ८ हजार देखि अधिकतम २१ हजार रुपैयाँ सम्म बोलि लागेको थियो।
यस्तै बि श्रेणीका खेलाडीहरुलाई ५ देखि १८ हजार सम्म, सी श्रेणीका खेलाडीहरुलाई ३ हजार ५ सय देखि ९ हजार रुपैयाँ सम्म तथा ‘डी’ श्रेणीका खेलाडीहरुलाई २ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँसम्म बोलि लागेको थियो। टिमहरुले ए ग्रेडबाट दुई जना मात्र खेलाडी तथा बि, सी र डी ग्रेडबाट समान चार जना खेलाडी टिममा राख्न पाउने नियम थियो।
यस अघिनै आयोजकले प्रत्येक टिमको मार्की र लोकल आइकन खेलाडी घोषणा गरिसकेको थियो। मार्की खेलाडीले २७ हजार रुपैयाँ पाउनेछन् भने लोकल आइकनले टिमसंग सम्झौता अनुसार रकम पाउनेछन्। तिलाठी कोइलाडीको मार्की खेलाडी सुनिल धमला र लोकल आइकन आशिष झा, बजाज खडक वारियर्सको मार्की खेलाडी सिद्धान्त लोहनी र लोकल आइकन गोमानन्द अमात्य , टिभीएस किंग्स राजविराजको मेहबुब आलम र लोकल आइकन रोहन विक, राजविराज द किंगको मार्की खेलाडी दिलिप नाथ र लोकल आइकन अनिल कुमार यादव छन् भने राजविराज ब्रदर्सको मार्की खेलाडी अनिल कुमार शाह र लोकल आइकन विक्रम धोज कार्की छन्।