काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा पपुवा न्युगीनी (पीएनजी) ले पहिलो जित हात पारेको छ । यूएईलाई ६ विकेटले पराजित गर्दै पीएनजीले लिगमा पहिलो जित हात पारेको हो ।
सनिबार १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको पीएनजीले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर १ सय ५० रन बनायो ।
पीएनजीको जितमा कप्तान असाद भालाले ६८ रनको अर्धशतकीय इनिङ खेले । ९७ बलमा ६ चौका प्रहार गर्दै उनी अविजित रहे । यस्तै चार्ल्स अमिनीले ३६ रन बनाउँदा ओपार टोनी उरा र लेगा सिएका दुवैले १०/१० रन बनाए । रिले हेकुरेले १६ रनको योगदान गर्दै सेसे बाउ २ रनमा अविजित रहे ।
यूएईका काशिफ दौद, रोहन मुस्तफा र अहमद राजाले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा १ सय ४७ रन बनाउँदा अल आउट भयो ।
खाराब सुरुवात गरेको यूएईलव ११ औं ओभरसम्म १६ रन जोड्दा ५ विकेट गुमाएको थियो । मध्यक्रममा यूएईका रोहन मुस्तफा र बसिल हमेदले ४२ रनको साझेदारी गर्दै यूएईलाई सम्मानजनक स्तिथिमा पुर्याउन मद्दत गरे ।
रोहनले १ सय ४४ बल खेल्दौ ८८ रनको जिम्मेवारीपूर्ण इनिङ खेले । उनले अर्धशतकीय इनिङ खेल्न ११ चौका र १ छक्का प्रहार गरे । बसिलले ५४ बलमा २० रन जोड्दा आउट भए ।
यूएईलाई सस्तैमा समेट्न पीएनजीका अलेइ नाओले १० ओभर बलिङ गर्दै १ मेडेन ओभर गर्दा मात्र २७ रन खर्चिएर ४ विकेट लिए । यस्तै चाद सोपरले ८ ओभरमा २ मेडेन गर्दै १५ रन खर्चेर ३ विकेट हात पारे । रिले हेकुरेलव २ विकेट लिए ।
जितसँगै पीएनजीले लिगमा २ अंक जोड्न सफल भएको छ । १५ खेलमा १४ खेलमा हार ब्यहोरेको पीएनजी तालिकाको पुछारमा छ ।
यूएई १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
यसअघि यूएईले सिरिजमा पीएनजीलाई ७ विकेट तथा नेपाललाई ४८ रनले पराजित गरेको थियो । यस्तै नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो ।