काठमाडौं । महिला विश्वकपमा भारतले वेष्ट इण्डिजविरुद्ध फराकिलो जित हात पारेको छ ।
शनिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
३ सय १८ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४० ओभर ३ बलमा मात्र १ सय ६२ रन बनाउँदा अल आउट भयो ।
शानदार सुरुवात गरेको वेष्ट इण्डिजकी ओपनरद्वय दिनद्रा डोट्टीन र हेली माय्थ्युस्ले पहिलो विकेटको लागि एक सय रनको साझेदारी गरे पनि मध्यक्रमका ब्याटर क्रिजमा जम्न नसक्दा लज्जास्पद हार ब्यहोर्नु पर्यो ।
दिनद्रा डोट्टीनले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै हेली माय्थ्युस् ले ४३ रन बनाउँदा चेडिन नेसनले १९ तथा शेमेन काम्प्बेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
भारतको शानदार जितमा स्नेह रानाले ३ तथा मेघ्ना सिंहले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतका दुई ब्याटरले शतक प्रहार गर्दै ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेलिन् ।
वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।
जितसँगै भारत ३ खेलमा २ जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै वेष्ट इण्डिज समेत ३ खेलमा २ जित निकाल्दा ४ अंक रहेपनि नेट रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।