काठमाडौं । नेपाल एपीएफ क्लब अपराजित रहदै ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा आईतबार लिग चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
लिग चरणमा एपीएफले खेलेका चारवटै खेल जितेको छ । यता सुदुरपश्चिमले भने तीन खेल जित्दै लिगमा दोस्रो हुदै फाइनलमा प्रवेश गरिसकेको छ ।
एपीएफ र सुदुरपश्चिमबीचको फाइनल सोमबार टियु मैदानमै हुनेछ ।
प्रतियोगिताबाट बाहिरिएका प्रदेश १ ले दुई खेल जित्दा लुम्बिनी प्रदेशले १ खेल जितेको छ । ललितपुर मेयर्स ११ ले चारवटै खेलमा पराजय भोगेको थियो ।
आईतबारको खेलमा ४५ रनको सामान्य लक्ष्य एपीएफले कुनै पनि विकेट नगुमाई ६ दशमलब ४ ओभरमा पुरा गर्यो ।
एपीएफको जितमा ज्योती पाण्डेले अविजित २२ रन तथा सिता राना मगरले अविजित १७ रनको योगदान गरे ।
यस अघि टस जितेर लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ४४ रन जोड्यो ।
लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक १५ तथा लक्ष्मी चौधरीले ११ रन जोडे ।
एपीएफका लागि रेखा रावलले सर्वाधिक ३ विकेट हात पारिन् ।
सुमन विष्टले एक विकेट लिए ।