काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा युएईविरुद्धको खेल नेपालका लागि खराब दिन भएको बताएका छन् ।
विश्वकप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले युएईविरुद्धको खराब दिनकै कारण नेपाल विश्वकपमा छनोट हुन असफल भएको बताएका हुन् ।
छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि युएईविरुद्ध चुकेको उनले बताए ।
'हामीले राम्रो खेलेका हौँ । एक दिन खराब दिन रह्यो । त्यहिँ हामीलाई महँगो पर्यो,' कप्तान सन्दीपले भने, 'तर, हामी यसबाट अघि बढ्नु पर्छ । आउने दिनको बारेमा सोच्नु पर्नेछ । सबैले आफ्नो ठाउबाट सक्ने कोशिश गरे । तर, सबै खेल जित्यौं, जुन जित्नु पर्ने थियो, त्यो भएन ।'
ओमानमा आयोजना भएको छनोट खेलेर नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।
छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।
तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो ।
कप्तान सन्दीपले विश्वकपमा छनोट हुन असफल हुँदा टिमले धेरै कुरा गुमाएको बताए ।
'हामीले शीर्ष स्तरको टिमसँग खेल्ने मौका पाउने थियौं । पक्कै पनि त्यो मिस गर्ने छौँ । त्यो एक्सपोजर अनि सुविधाहरु, त्यो फरक स्तरको सोचाइ । धेरै कुरा छन् मिस हुने कुराहरु,' उनले भने ।
कप्तान सन्दीपले छनोटमा खेलाडीले गरेको प्रदर्शनले भविष्यमा राम्रो हुने संकेत दिएको बताए ।
'लक्ष्य पूरा नगरे पनि लक्ष्य नजिक पुग्यौं । मलाई लाग्छ यो राम्रो सुरुआत हो । धेरै युवा टिम छ । भविष्य राम्रो छ । जुन तरिकाले अहिले प्रदर्शन भईरहेको छ,' कप्तान सन्दीपले थपे, 'भविष्यमा राम्रो हुने संकेत हो । केटाबाट गर्व छ किनकि उनीहरुले जुन देखाए । चाहे ब्याटिङ होस् या बलिङको बेला होस्, सबैले कोशिश गरे ।'
सन्दीपले नेपाली क्रिकेटको लागि यो अन्त्य नभई सुरुवात भएको समेत बताए ।
नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले युएईविरुद्ध बाहेक अन्य खेलमा नेपाली टोलीले उत्कृष्ट खेलेको बताए ।