काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको उपाधि जितेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै युएईले उपाधि हात पारेको हो ।
युएई र आयरल्यान्डले भने यस अघि नै सेमिफाइनल खेल जित्दै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाइसकेका थिए ।
बिहीबारको खेलमा आयरल्यान्डले दिएको १ सय ६० रनको लक्ष्य युएईले १८ दशमलब ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
युएईको जितमा ओपनर मुहम्मद वसिमले १ सय १२ रनको शतकिय इनिङ्स खेले ।
वसिमले ६६ बलको सामना गर्दा ७ चौका र ८ छक्का हिर्काए ।
रोहन मुस्तफा ३७ रनमा अविजित रहे ।
आयरल्यान्डका जोश लिटलले सर्वाधिक २ तथा एन्डी माइकब्रिनले एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुदै १ सय ५९ रन बनाएको थियो ।
आरल्यान्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ५० रन बनाए ।
शेन गेटकाटेले ३० रनको योगदान गरे ।
युएईका लागि जाहुर खान र रोहन मुस्तफाले समान तीन–तीन विकेट हात पारे ।
जुनैद सिद्धिकी, कसिफ दाउद, कार्थिक मैयप्पन र बसिल हमिदले एक–एक विकेट लिए ।