काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा प्रदेश नं. १ ले पहिलो जित हात पारेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
प्रदेश १ ले यस अघि पहिलो खेलमा नेपाल एपीएफ क्लबविरुद्ध ६ विकेटको पराजय भोगेको थियो ।
यता लुम्बिनीको भने पहिलो खेलमा ललितपुर मेयर्स ११ लाई २ रनले पराजित गरेको थियो ।
दुई खेलमध्ये एक–एक जित हात पारेको प्रदेश १ र लुम्बिनीको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।
बिहीबारको खेलमा ८० रनको लक्ष्य प्रदेश १ ले १५ दशमलब ४ ओभरमा केवल १ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश १ को जितमा कप्तान रुविना क्षेत्रीले अविजित ४८ रनको योगदान गरिन् ।
काजल श्रेष्ठले २० रन जोड्दा अप्सरी बेगम ९ रनमा अविजित रहिन् ।
लुम्बिनीका लागि एकमात्र विकेट कृतिका मरासिनीले लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रन जोडेको थियो ।
लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ३१ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन् ।
प्रदेश १ का लागि सबनम राईले सर्वाधिक ३ विकेट हात पारिन् ।
रुविना क्षेत्री र हेरमायी रोयले एक–एक विकेट लिए ।