काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
यस अघि एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश नं. १ लाई ६ विकेटले पराजित गरेको थियो ।
सुदुरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो ।
बुधबारको खेलमा सुदुरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
एपीएफको जितमा रोमा थापाले अविजित रहदै सर्वाधिक २३ रनको योगदान गरिन् ।
ममता चौधरी १४ रनमा अविजित रहिन् ।
ज्योती पाण्डेले ११, इन्दु बर्माले १०, सरिता मगरले ९ बनाए ।
सुदुरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम निर्धारित २० ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाउन सक्यो ।
सुदुरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रनको जोडे ।
एपीएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् ।
करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई विकेट लिए । राजमती ऐरीले १ विकेट हात पारिन् ।