काठमाडौं । एस्ली बार्टी खुबै बहुप्रतिभाशाली छिन् । टेनिस त उनी खेल्छिन् नै । उनले व्यवसायिक रूपमै क्रिकेट पनि खेलिसकेकी छिन् । अनि एउटा गल्फ प्रतियोगिता पनि जितिसकेकी छिन् । भर्खरै उनले अष्ट्रेलियन ओपनको महिला एकलको उपाधि जितिन् र यसक्रममा आफ्नो देशका लागि ऐतिहासिक उपलब्धी हात पारिन् ।
अष्ट्रेलियाली खेलाडीले अष्ट्रेलियन ओपन जितेको यो ४४ वर्षपछि पहिलो पल्ट थियो । सन् १९७८ मा अन्तिम पटक अष्ट्रेलियाकी क्रिस ओ’निलले यो उपाधि जितेकी थिइन् । त्यसयता पूरा अष्ट्रेलियाको आश थियो, कहिले आफ्नै देशका खेलाडीले यो उपाधि जित्ने हो भनेर । यही सफलता दिलाउन बार्टीले फाइनलमा अमेरिकाकी ड्यानिली कोलिन्सलाई हराइन् ।
एउटै खेलाडीले माथिल्लो स्तरमा टेनिस, क्रिकेट र गल्फ खेल्नु आफैमा कम्तीमा उपलब्धी होइन्, त्यसैले बार्टीको ‘सीभी’ उत्तिकै दरिलो छ । उनको एउटा अर्को ठूलो विशेषता पनि छ र त्यो हो, टेनिस टुरमा सबैभन्दा भलाद्मी कोही छिन् भने ती बार्टी नै हुन् । धेरैले अनुभव गरेका छन्, निकै नरम छिन्, उनी ।
अनि शिष्ट भाषामा बोल्छिन् । अहिले त उनी विश्व नम्बर १ खेलाडी पनि हुन् । लगातार तीन पल्ट भयो, उनी वर्षको अन्त्यमा नम्बर १ खेलाडी रहेको । यो पनि आफैमा ठूलो उपलब्धी हो । विम्बल्डन र फ्रेन्च ओपन पनि जितिसकेकी बार्टीले हात पारेको यस्तो उपलब्धी यसअघि स्टेफि ग्राफ, मार्टिना नभराटिलोभा, सेरेना विलियम्स र क्रिस एभर्टको नाममा मात्र थियो ।
–एएफपीको सहयोगमा ।