काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नयाँ खेलाडीलाई समेत अवसर प्रदान गर्ने बताएका छन् ।
काठमाडौंमा बुधबार सम्पन्न प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि दासानायकेले छनोटका लागि युवा तथा अनुभवी खेलाडीको टिम बनाउने बताए ।
‘टी–ट्वान्टी विश्वकप छनोटका लागि अनुभव भएका खेलाडीहरुको आवश्यकता पर्छ । त्यसैले हामीले अनुभवी तथा नयाँ खेलाडीहरुलाई टिममा मौका दिनेछौ,’ दासानायकेले भने ।
उनले प्रधानमन्त्री कपमा युवाहरुको प्रदर्शन हेदा नेपाल राम्रो अवस्थामा रहेको समेत दावी गरे ।
विश्वकपको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।
छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।
यसैबीच मुख्य प्रशिक्षक दासानायकेले नेपालमा धेरै युवा खेलाडीहरु आएको तथा आफू उनीहरुबाट प्रभावित भएको बताए ।
‘धेरै युवा प्रतिभाहरु छन्, म धेरै प्रभावित भएको छु । यस भन्दा अगाडी म नेपाल हुदा भन्दा अहिले धेरै युवा खेलाडीहरु आइरहेका छन्,’ दासानायकेले बताए ।
तर प्रशिक्षक दासानायकेका अनुसार कतिपय युवा खेलाडीहरु राष्ट्रिय टिमका लागि खेल्न अझै केही समय लाग्नेछ ।
‘कतिपयलाई अझै केही समय लाग्छ भने कतिपय खेलाडीहरु खेल्न तयार छन्,’ उनले थपे ।
दासानायकेले नेपाली टोलीको बन्द प्रशिक्षणमा नयाँ खेलाडीहरु थपिने समेत जनाए ।