काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।
बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो ।
गण्डकीका कमल परियारले ११ रन जोडे । विधान श्रेष्ठ, दिपक डुम्रे,सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए ।
बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे । प्रतिष जिसी र सुबाश खकुरेलले समान २७ रन जोड्दा लक्की कठायतले १७ रन जोडे ।
नन्दन यादवले १४ रन जोड्दा इशान पाण्डे ९ र कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए ।
गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २/२ विकेट लिए । अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १/१ विकेट लिए ।
यस जितसँगै समूह बी मा रहेको बागमतीले ४ खेलमा ६ अंक जोड्यो ।
बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
गण्डकी ३ खेलमा अंक विहीन रहेको छ । गण्डकी पुछारमा रहेको छ ।