अष्ट्रेलियाले दोस्रो पल्ट नोभाक जोकोभिचको प्रवेशाज्ञा रद्द गरेको छ र यी विश्व नम्बर १ खेलाडीले फेरि कानुन लडाइ लड्ने पनि भनिसकेको छ ।
तर उनले अहिले जे जस्तो गरिरहेका छन्, त्यसको विरोधमा आवाज उठ्न थालेको छ ।
अष्ट्रेलियन ओपन खेल्न मेलबर्न आइपुगेका सर्बियाली खेलाडीले अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएको छ अथवा छैन् खुलाएका छैनन् ।
चौथो वरीयताका ग्रिसका स्टेफानोस सिसिपासले त खुलेरै जोकोभिचको विरोध गरेका छन् र भनेका छन्, जोकोभिचले गर्दा खोप लगाएका अन्य खेलाडी मुर्ख जस्तै देखिएका छन् ।
शीर्ष वरीयताका सय खेलाडीमध्ये ९७ ले खोप लगाइसकेको विश्वास छ । यस्तै एन्डी मुरेले पनि जोकोभिचको घटनाक्रमले विश्व टेनिसलाई केही राम्रो नगरेको बताएका छन् ।
पुरानो ठूला स्टार बोरिस बेकरले त कोही पनि खेलाडी कुनै पनि प्रतियोगिता भन्दा ठूलो नहुने बताएका छन् । उनी सन् २०१३ तिर जोकोभिचका प्रशिक्षक पनि थिए ।
अष्ट्रेलियाका हालै मात्र एक मत सर्वेक्षण पनि गरिएको छ । करिब ६० हजारबीच गरिएको त्यस मत सर्वेक्षणमा ८३ प्रतिशतले जोकोभिचको प्रवेशाज्ञा रद्द गर्नु पर्ने बताएका थिए ।
–बीबीसीको सहयोगमा ।