काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको पल्सरले प्रायोजन गरेको छ ।
नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि र एक्सिलेन्स सेन्टरबीच बुधबार सझौता पत्रमा हस्ताक्षर भएको छ ।
संम्झौतासँगै क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर भएको छ ।
सम्झौतापछि बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध भएकोमा खुसी व्यक्त गरे ।
उनले बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध रहेको र रहिरहने बताए ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध भएकोमा खुसी व्यक्त गर्दै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई सबै खेलकुदमा सहयोग गरेकोमा पल्सरलाई हृदयदेखि धन्यवाद दिए ।
क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो ।
गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।
यस सेन्टरले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ ।