काठमाडौं । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सिड्नी टेस्टको चर्चा अझै सेलाएको छैन् । त्यस टेस्टलाई बराबरीमा रोकेपछि इंग्ल्यान्ड ह्वाइटवास हुनबाट जोगिएको छ ।
त्यति मात्र होइन्, यो बराबरीले इंग्लिस टिममा उत्साह पनि फर्केको छ । घरेलु टिमलाई बराबरीमा रोक्न एक ब्याट्सम्यानले खास भूमिका खेले र उनी थिए, जोनी बियरस्टो ।
उनले टिमको पहिलो इनिङ्समा १ सय १३ रन बनाए । पछि दोस्रो इनिङ्समा पनि उत्तिकै बहुमूल्य योगदान रह्यो । पहिलो इनिङ्सको शतकपछि भने बियरस्टो निकै खुसी देखिए र लगतै आकाशतिर हेरेर आफ्ना बुबालाई धन्यवाद दिन चाहे । यही एक अवसरले गरेर उनले सबैलाई आफ्ना बुबालाई फेरि एकपल्ट सम्झाउन खोजे ।
बियरस्टोका बुबा डेविड बियरस्टो पनि उत्तिकै सफल क्रिकेट खेलाडी हुन् । उनले इंग्ल्यान्डका लागि पनि खेले । अझ उनले ब्रायडफोर्डका लागि फुटबल पनि खेले । तर खेल्न छाडेपछि उनी डिप्रेसनको शिकार बने र धेरै पल्ट आत्महत्याको प्रयास गरे । सन् १९९७ मा उनले आखिर झुन्डिएर नै आत्महत्या गरे ।
छोरा बियरस्टोलाई अझै पनि त्यस घटनाको चोट गहिरो छ, भलै त्यो घटना भएको बेला उनी निकै सानै थिए । उनी जति जति बेला इंग्ल्यान्डका लागि राम्रो खेल्न सक्षम हुन्छन्, आफ्नो बुबालाई सम्झन्छन् । यो वास्तवमै निकै भावुक क्षण हुने गर्छ । आफ्नो बुबाका लागि उनी राम्रो खेल्न प्रेरित रहने गर्छन्, उनको यस्तै भनाइ रहेको छ ।
–क्रिकेट विजडनको सहयोगमा ।