काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले पहिलो जित दर्ता गरेको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो ।
१ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश २ ले यस अघि सोमबार आफ्नो पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको थियो ।
गण्डकीविरुद्ध जित हात पार्दा प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रनको योगदान गरे ।
सन्तोष कार्कीले २१ बलमा २३ रन जोडे । उनले समान दुई चौका र दुई छक्का प्रहार गरे ।
हरीकृष्ण झाले १७ रन बनाए ।
गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पारे ।
विशाल पौडेल र सुवास भण्डारीले दुई–दुई विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोड्यो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे ।
सन्दीप क्षेत्रीले २७ रन जोडे ।
अर्जुन र सन्दीपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
प्रदेश २ का आदिल आलमले दुई विकेट लिए ।
हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवले एक–एक विकेट हात पारे ।