काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गरेको हो ।
सोमबार पुलिसले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो ।
आर्मीले भने सोमबार पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो ।
मंगलबारको खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसका लागि कुशल भुर्तेलले ३५ रन जोडे । उनले २२ बलको सामना गर्दा पाँच चौका र एक छक्का हिर्काए ।
रासिद खानले १९ बलमा २८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।
दिलिप नाथले २५ रनमा अविजित रहे ।
अनिल साहले २२ रनको योगदान गरे । अनिलले ११ बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरेका थिए ।
आर्मीका लागि साहाव आलमले सर्वाधिक तीन विकेट हात पारे ।
जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे ।
पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे ।
गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई–दुई विकेट लिदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे ।
यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।
आर्मी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।