काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्ट एक इनिङ्स र १ सय १७ रनले जितेको छ ।
शानदार जितसँगै न्यूजिल्यान्डले दुई खेलको टेस्ट सिरिज १–१ को बराबरीमा टुंग्याएको छ ।
यस अघि पहिलो टेस्ट बंगलादेशले ८ विकेटले जितेको थियो ।
दोस्रो टेस्टमा भने न्यूजिल्यान्डले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ६ विकेटको क्षतिमा ५ सय २१ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेपछि बंगलादेशको ब्याटिङ चल्न सकेन ।
बंगलादेश पहिलो इनिङ्समा १ सय २६ रनमै अलआउट भएपछि ३ सय ९६ रनले पछि पर्यो । जसका कारण बंगलादेश फलोअनमा परेको थियो र पुन ब्याटिङमा उत्रिएको थियो ।
तर दोस्रो इनिङ्समा बंगलादेशले सुधारिएको प्रदर्शन गरेपनि उसले २ सय ७८ रनमा सबै विकेट गुमायो ।
दोस्रो इनिङ्समा बंगलादेशका लागि लिटन दासले १ सय २ रन जोडे ।
बंगलादेशलाई अलआउट गर्न न्यूजिल्यान्डका कायल जेमिसनले सर्वाधिक ४ विकेट हात पारे । नेल वाग्नले ३ विकेट हात पारे ।
बंगलादेशका लागि पहिलो इनिङ्समा यासिर अलीले सर्वाधिक ५५ रनको योगदान गरेका थिए ।
न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले भने सर्वाधिक ५ विकेट लिएका थिए ।
यस अघि कप्तान टम लाथमले २ सय ५२ तथा डेभोन कनवेले १ सय ९ रन जोडेपछि न्यूजिल्यान्डले विशाल योगफल तयार पारेको थियो ।