काठमाडौं । बागमती प्रदेशले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भयो ।
लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे ।
रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए । रिजन ढकालले एक विकेट चट्काए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो ।
बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रनको योगदान गरे ।
कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए ।
लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।
सिद्धान्त शाही, विक्रम भुषाल तथा बसिर अहमदले एक–एक विकेट लिए ।