काठमाडौं । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
समूह ‘बी’ अन्तर्गत प्रदेश नं. २ लाई २४ रनले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको हो ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ३९ रन जोड्न सक्यो ।
हरिशंकर साहले २६ बलमा ३६ रन तथा मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।
हरिशंकरले ७ चौका प्रहार गर्दा आदिलले ४ छक्का र २ चौका हिर्काएका थिए ।
एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई–दुई विकेट हात पारे ।
शरद भेषावकर र किशोर महतोले एक–एक विकेट लिए ।
यस अघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।
एपीएफका लागि आसिफ शेखले ४५ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । आसिफले ३ ५ छक्का र ३ चौका प्रहार गरे ।
आसिफले पहिलो विकेटका लागि प्रदिप ऐरीसँग १ सय २० रनको साझेदारी गरेका थिए ।
प्रदिपले ४८ बलमा ६० रन जोडे । उनले ९ चौका हिर्काए ।
प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार विकेट हात पारे ।
विवेक यादवले एक विकेट लिए ।