काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियाद्धारा गरिएको भिषा रद्दको मुद्दा जितेका छन् ।
न्यायाधिश एन्थनी केलीले जोकोभिचका वकिलले जोकोभिचको भिषा रद्दका लागि अष्ट्रेलियाका अधिकारीहरुले उपयुक्त जानकारी नदिएको दावीलाई स्विकार गरे ।
यससँगै अदालतले जोकोभिचलाई हिरासतबाट रिहा गर्न तथा उनको सबै कागजात फिर्ता गर्न निर्देशन दिएको छ ।
गत बुधबार मेलवर्न विमानस्थलले नाटकिय रुपमा जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसका लागि अष्ट्रेलिया प्रवेशमा रोक लगाउनुका साथै उनलाई अध्यागमन हिरासत होटेलमा पठाइएको थियो ।
जनवरी १७ तारिखबाट अष्ट्रेलियन ओपन सुरु हुदैछ तर अष्ट्रेलियाका अध्यागमन मन्त्रीले आफ्नो शक्तिको प्रयोग गर्दै जोकोभिचको भिषा पुन रद्द गर्ने योजनामा रहेका छन् ।
अष्ट्रेलिया सरकारले सर्वियन नागरिक जोकोभिचलाई हालसालै लागेको कोभिड संक्रमणले उनी अष्ट्रेलिया प्रवेशका लागि लागू भएको नियमहरुबाट छुटका लागि योग्य नभएको जिकिर गर्दै आएको छ ।