काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
सोमबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।
सुदुरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन जोडे । नारायण जोशीले २२ रन जोड्दा खडक बोहरा १३ रनमा आउट भए ।
पुलिसका आरिफ शेखले ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए ।
सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३/३ विकेट लिए । शेर मल्लले २ विकेट लिए ।
यस जितसँगै समूह 'ए' को पुलिसले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । पुलिस समूहको दोस्रो स्थानमा रहेको छ ।
सुदुरपश्चिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।