काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् ।
टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ ।
त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ ।
यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ ।
मुलपानीमै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।