काठमाडौं । एसेस सिरिज अन्तर्गत अष्ट्रेलिया र इंग्ल्यान्डबीचको चौथों टेस्ट नाटकियरुपमा बराबरीमा टुंगिएको छ ।
सिड्नीमा ३ सय ८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौ दिनको खेलको समाप्तीसम्म ९ विकेट गुमाएर २ सय ७० रन जोडेपछि खेल बराबरीमा टुंगिएको हो ।
अष्ट्रेलियाले अन्तिम एक विकेट लिन नसक्दा उसले पाँच खेलको सिरिजमा ४–० को अग्रता बनाउने मौका गुमायो ।
अष्ट्रेलियाले सिरिज ३–० ले जितिसकेको छ ।
इंग्ल्यान्डलाई हारबाट जोगाउन जाक क्राओलीले सर्वाधिक ७७ रनको योगदान गर्दा वेन स्टोक्सले ६० रन जोडे ।
अष्ट्रेलियाका लागि स्कट बोलान्डले सर्वाधिक ३ विकेट हात पारे ।
नथन लायन र कप्तान प्याट कमिङ्सले समान दुई–दुई विकेट लिए ।
यस अघि उसमान खवाजाले १ सय ३७ रन प्रहार गरेपछि ८ विकेटको क्षतिमा ४ सय १६ रन जोड्दै अष्ट्रेलियाले पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
इंग्ल्यान्डका स्टुआर्ड ब्रोर्डले सर्वाधिक ५ विकेट हात पारेका थिए ।
जवाफमा इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले १ सय १३ रनको योगदान गरेका थिए ।
अष्ट्रेलियाका स्कट बोलान्डले सर्वाधिक ४ विकेट लिएका थिए ।
अष्ट्रेलियाले दोस्रो इनिङ्स भने ६ विकेट गुमाउदै २ सय ६५ रनमा समाप्तीको घोषणा गरेको थियो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि खवाजाले १ सय १ रनमा नटआउट रहदै एकै खेलमा दोस्रो शतक प्रहार गरेका थिए ।
क्यामरुन ग्रिनले ७४ रनको योगदान गरे ।
इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक ४ विकेट तथा मार्क उडले २ विकेट हात पारे ।