काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान उसमान खवाजाले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा दोस्रो शतक प्रहार गरेका छन् ।
खवाजाले दोस्रो इनिङ्समा १ सय १ रनमा नटआउट रहदै दोस्रो शतक प्रहार गरेका हुन् ।
यस अघि उनले पहिलो इनिङ्समा १ सय ३७ रन प्रहार गरेका थिए ।
करिब साढे दुई वर्षपछि मैदानमा फर्किएका खवाजा सिड्नी क्रिकेट ग्राउन्डमा दुई शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।
त्यसैगरी, एसेस क्रिकेट सिरिज अन्तर्गत एउटै टेस्टमा दुई शतक प्रहार गर्ने नवौं खेलाडी तथा समग्रमा पाँचौ नम्बर वा
सो भन्दा तल ब्याटिङ गर्ने खेलाडीहरुमध्ये दुई शतक प्रहार गर्ने १० औ खेलाडी बनेका छन् ।
यससँगै अष्ट्रेलियाले इंग्ल्यान्डलाई जितका लागि ३ सय ८८ रनको लक्ष्य दिएको छ ।
८ विकेटको क्षतिमा ४ सय १६ रन जोड्दै पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको अष्ट्रेलियाले दोस्रो इनिङ्स भने ६
विकेट गुमाउदै २ सय ६५ रनमा समाप्तीको घोषणा गरेको थियो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ७४ रनको योगदान गरे ।
इंग्ल्यान्डका ज्याक लिचले सर्वाधिक ४ विकेट तथा मार्क उडले २ विकेट हात पारे ।
यता पहिलो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएको इंग्ल्यान्डले ३ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा चौथो दिनको समाप्तीमा विना विकेटको क्षतिमा ३० रन जोडेको छ ।
जाक क्राओली २२ तथा हसिव हमिद ८ रनमा नटआउट रहेका छन् ।