काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
किरण र पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।
किरण र पुष्पाले अघिल्लो संस्करणमा समेत सहभागिता जनाएका थिए ।
बंगलादेश जाने नेपाली खेलाडीहरुलाई बिहीबार बिदाइ गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे ।
मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए ।
बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।
पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्रीले भने, 'हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।'
जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।