काठमाडौं । न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेस्टमा घरेलु टोलीलाई हराएको छ ।
टेस्टको पाँचौं दिन बुधबार बिहान बंगालदेशले न्युजिल्याण्डलाई ८ विकेटले हराएको हो ।
टेस्ट क्रिकेटमा न्युजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो ।
यस जितसँगै बंगालदेशले २ खेलको सिरिजमा १-० को अग्रता समेत बनाएको छ ।
न्युजिल्याण्डबाट प्राप्त ४० रनको लक्ष्य बंगलादेशले दोस्रो इनिङ्समा २ विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशका लागि कप्तान मोमिनुल हकले अविजित १३ तथा होसेन शान्टोले १७ रन बनाए । मुस्फिकर रहिम ५ रनमा अविजित रहे ।
न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले १/१ विकेट लिए ।
यस अघि बंगलादेशले पहिलो इनिङ्समा ४ सय ५८ रनको फराकिलो योगफल तयार गरेको थियो ।
कप्तान हकले ८८ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ८६ रनको इनिङ्स खेले । हसन जोयले ७८ तथा शान्टोले ६४ रन जोडेका थिए ।
न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा निल वाग्नेरले १ विकेट लिए ।
पहिलो इनिङ्समा न्युजिल्याण्डले ३ सय २८ रन बनाएको थियो । डेभोन कोन्वेले १ सय २२ रनको शतकीय इनिङ्स खेल्दा हेनरी निकोलसले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । विल योङ्ले ५२ रनको योगदान दिए ।
बंगलादेशका शोरिफुल इस्लाम र मेहदी हसन मिराजले ३/३ विकेट लिए ।
दोस्रो इनिङ्समा भने न्युजिल्याण्ड १ सय ६९ रनमा अलआउट भयो । र, बंगलादेशले सामान्य लक्ष्य पाएको थियो । उसका विल योङ्ले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोस टेलरले ४० रन बनाए ।
घरेलु टोलीलाई सस्तैमा समेट्न बंगलादेशका एबाडट होसेनले ६ विकेट लिए । ताक्सिन अहमेदले ३ विकेट लिए ।