काठमाडौं । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा राई रारा म्याराथनको सद्भावना दुत बनेकी छिन् ।
आयोजक अन्तराल इभेन्टले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाविका मिरालाई सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।
रारा म्याराथन आगामी वैशाख दोस्रो साता आयोजना हुनेछ ।
लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने म्याराथन वैशाख ११ गते हुनेछ ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।
म्याराथनमा महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ ।
म्याराथनमा मिरा सद्भावना दुतको रुपमा सहभागिता हुने छिन् ।
'म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसँगै दौडिने छु । तर, प्रतियोगीको रुपमा हैन,' मिराले भनेकी छिन् ।
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
विश्व किर्तिमानी खेलाडी धावक हरिबहादुर रोकायाको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर’ निर्माण गरेको अन्तरालले जनआन्दोलन सम्बन्धी पुस्तक ‘जनता उठेपछि’ प्रकाशन गरेको छ ।
नेपालगन्ज गोल्डकप फुटबलको व्यवस्थापन गर्दै आएको अन्तरालसँग अन्तर बैंक फुटबल, इन्डो नेपाल गेम्स, दोस्रो राष्ट्रिय बिच भलिबल लगायतका खेलकुद र ठुला कर्पोरेट इभेन्ट्समा व्यवस्थापन सम्हालेको अनुभव छ ।
यसैगरी पश्चिम नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।