काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।
समूह बी को नेपाल समूह चरणबाटै बाहिरिएको छ । तर, कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।
नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । कुवेत पुछारमा रहेको छ । दुबै टोलीले अंक जोड्न सकेको छैन ।
यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।
पछिल्लो तथ्यांकअनुसार कुवेतविरुद्ध नेपाल हाबी हुने देखिन्छ । पछिल्लो चार भेटमा नेपालले सबै खेलमा जित निकालेको छ ।