काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले टेस्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सारजाह क्रिकेट मैदानमा नेपालविरुद्ध श्रीलंकाले सुरुआतमा ब्याटिङ गरिरहेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
श्रीलंकाविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । बंगलादेशविरुद्ध टिममा रहेका दुर्गेश गुप्ता र अर्जुन कुमाललाई बेन्चमा राखिएको छ । शेर मल्ल र बसन्त कार्कीले मौका पाएका छन् ।
नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो ।
नेपाल अंक विहीन रहदै समूह बी को पुछारमा रहेको छ ।
श्रीलंका भने २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपाललाई हराएर श्रीलंका दोस्रो जित निकाल्न चाहन्छ ।
पछिल्लो पाँच भेटमा नेपालविरुद्ध श्रीलंका हाबी हुँदै आएको छ । पाँचै खेलमा श्रीलंकाले जित निकालेको छ ।
प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।