काठमाडौं । सिभाली गुरुङ र असभसम्राट हाडा १९ औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यू–१० तर्फ च्याम्पियन भएका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बुधबार गर्ल्समा सिभाली र ब्वाइजमा असभसम्राट च्याम्पियन बनेका हुन्।
सिभालीले फाइनलमा आयुसा जिसीलाई ६–० र ६–० ले सहजै हराइन् । असभसम्राटले भने स्पन्दन उदासबाट वाक ओभर पाउँदा प्रतिस्पर्धा बिना नै च्याम्पियन हुने अवसर पाए ।
गर्ल्स यू–१२ मा प्रज्ना मानन्धर च्याम्पियन भइन् । प्रज्नाले फाइनलमा समृद्धि महर्जनमाथि ६–१ र ६–१ को सहज जित निकालिन् । यसै उमेर समूहको ब्वाइजतर्फ भने बोरिस अधिकारी र दर्शिल श्रेष्ठ फाइनलमा पुगेका छन् ।
बोरिसले सेमिफाइनलमा स्पर्श तिमिल्सिनामाथि ६–० र ६–१ को जित रच्दै उपाधि भिडन्त तय गरेका हुन् । दर्शिलले भने सेमिफाइनलमा सृजन भट्टराईमाथि कठिन जित निकाल्दै बोरिससँगको भिडन्त तय गरेका छन् । पहिलो सेट ४–६ ले गुमाएका दर्शिलले त्यस पछिका सेट ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरे ।
गर्ल्स यू–८ तर्फ अनुश्री धोजु, निश्वी गोर्खाली, इरिस श्रेष्ठ र सभर्ना गुरुङ सेमिफाइनलमा पुगेका छन् । यसै उमेर समूहको ब्वाइजमा कृतन्यविक्रम शाह, सभ्यजंग कार्की, रिधान अर्याल, निधय राणा, विश्वविशेष डल्लाकोटी र सियोङ वोन हा क्वार्टरफाइनलमा पुगेका छन् ।