काठमाडौं । प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिता पुसको पहिलो हप्ता आयोजना हुने भएको छ ।
नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता पुसको १ देखि ३ गतेसम्म भैसेपाटीमा हुने प्रालिका निर्देशक दान बहदुर महताले जानकारी गराए ।
प्रतियोगितामा पुरुषको एकल, महिला एकल, मिक्स डबल्स, पुरुष भेट्रान्स (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि), ब्वाइज एकल यू-१६ र गर्ल्स यू-१६ गरि आठ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ३ सय २० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना, एपीएफ र अन्य क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
कुल १० लाख बजेट रहेको प्रतियोगिताको महिला र पुरुषको एकलतर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने दुई जनाले २ हजार ५ सय पाउने छन् ।
यस्तै सबै आठ स्पर्धाका विजेतालाई सिओम टेबल टेनिस नेपालले पाँच लाख रुपैयाँ बराबरको टेबल टेनिस खेल सामग्री प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यस्तै सह प्रायोजकमा पूर्ण शंकर श्रेष्ठ रहेका छन् ।