काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सिता राना मगरले हङकङमा हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।
सिताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने भएकी हुन् ।
फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला टी–ट्वान्टी प्रतियोगिता हो ।
यससँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी समेत बनेकी छिन् ।
प्रतियोगिता आगामी वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुनेछ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।
भारतीय खेलाडी हर्मनप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
तर सिताले कुन टिमबाट खेल्ने भन्ने अन्तिम निर्णय आयोजकले गर्ने बताइएको छ ।
यसका लागि क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा लिले सहयोग गरेको थियो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सिताले सन् २००७ मा नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् ।