काठमाडौं । सन्तोष कार्कीको शतकको मदतमा वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले दोस्रो जित दर्ता गरेको छ ।
प्रदेश २ ले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै तीन खेलमा दोस्रो जित दर्ता गरेको हो ।
यस अघि प्रदेश २ ले सुदुरपश्चिममाथि जित निकाल्दा प्रदेश नं. १ विरुद्ध पराजय भोगेको थियो ।
यता बागमतीले भने चार खेलमा तेस्रो पराजय भोगेको छ ।
आजको खेलमा बागमतीले दिएको २ सय ५४ रनको लक्ष्य प्रदेश २ ले ४१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश २ लाई जित दिलाउन सन्तोष कार्कीले १ सय ११ रनको इनिङ्स खेले । १ सय १ बलमा शतक पुरा गरेका कार्कीले १ सय १५ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान विवेक यादवले पनि आक्रामक पारी खेले । ८६ रनमा अविजित रहेका यादवले ७३ बल खेल्दै ६ चौका र ७ छक्का प्रहार गरे ।
सन्तोष र विवेकले तेस्रो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेका थिए ।
प्रदेश २ का लागि रोहन विकले २६ रन जोडे ।
बागमतीका लागि तिलक भण्डारीले सर्वाधिक २ विकेट लिदा प्रतिज जिसी र प्रशान्त महतले एक–एक विकेट हात पारे ।
यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको ३ बल बाँकी छदा अलआउट हुदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि स्वप्निल अधिकारीले सर्वाधिक ८५ रनको योगदान गरे । अधिकारीले ८३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
ओपनर विपिन शाहीले पनि अर्धशतक पुरा गर्दै ८३ बलमा ५९ रन जोडे । शाहीले ६ चौका र एक छक्का हिर्काए ।
प्रदेश २ का लागि पुरज ढुंगेलले सर्वाधिक ३ विकेट हात पारे ।
प्रदिप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले एक–एक विकेट लिए ।