काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज च्यासल पहिलो जितको खोजीमा हुनेछ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो ।
च्यासल अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ ।
एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
एपीएफ अंक विहीन रहदै ११ औं स्थानमा रहेको छ ।
लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र हिमालयनबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
कीर्तिमानी आठ पटकको विजेता मनाङ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो । मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
मनाङविरुद्ध मैदान उत्रदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । हिमालयन १ अंक जोडेर सातौं स्थानमा रहेको छ ।